महानगरलाई सुन्दर बनाउन तीनै तहका सरकारबीच सहकार्य हुनुपर्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् ।

आज सोमबार ललितपुर महानगरपालिकाको १०५ औं वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै उनले तीनै तहका सरकारबीच सहकार्यमा जोड दिएका हुन् । उनले काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरु भएको भन्दै दुबै महानगरपालिकाको विकास सँगसँगै हुनुपर्नेमा जोड दिए ।साथै संघीय सरकारले केही कानुनी अड्चनहरु फुकाइदिनुपर्ने बताए ।

बालेनले भने, ‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ । कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’ उनले भने ।

‘केही केही कुराहरु हामी मेयरहरु, उपमेयरहरु बसेर पनि सल्टाउन सक्छौं । तर कुनै कुनै कुराहरु यस्ता छन्, संघीय कानुनमा स्थानीय कानुनमा बाझिएका छन्,’ मेयर बालेनले भने, ‘फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौं । त्यो कुरा स्थानीय सरकार आफैंले गर्न सक्ने कुरामा बाधा अड्चन परेको छ । त्यो कानुनी बाधा अड्चन फुकाइदिनु हुन सम्माननीय ज्यूलाई ९प्रधानमन्त्री प्रचण्डलाई० यहीँबाट आग्रह पनि गरें, अनुरोध पनि गरें ।’ उपत्यकाको फोहोर व्यवस्थापन पाँच वर्ष वा ५० वर्षका लागि मात्र नभई दीर्घकालीन होस् भन्ने चाहना रहेको उनले बताए ।

उनले छिट्टै काठमाडौंको खोला अतिक्रमण र ललितपुरको फुटपाथ अतिक्रमण हट्ने विश्वास समेत व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *