नेफस्कूनद्वारा चन्द्रागिरि साकोसका सीइओ श्रेष्ठ उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित
काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)को सम्पन्न ३२ औं साधारणसभामा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सीइओ कृष्णकुमार श्रेष्ठ मुलुभरकै साकोसहरुमध्येका उत्कृष्ट व्यवस्थापक रुपमा सम्मानित भएका छन् । श्रेष्ठलाई नेपालभरीको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको रुपमा प्रशंसापत्र र नगद सहित पुरस्कृत गरिएको छ । नेफ्स्कुनले ३६औं स्थापना दिवसको अवसरमा सीइओ श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित गरेको थियो ।
सहकारी क्षेत्रमा २३ वर्षदेखि क्रियाशील श्रेष्ठले विभिन्न बचत तथा ऋण सहकारी संस्थाको सीइओको रुपमा काम गरेका छन् । उनले दोलखा, काभ्रे र काठमाण्डौमा रहेका उत्कृष्ट संस्थाहरुमा सीइओको जिम्मेवारी बहन गरिसकेका छन् । ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका श्रेष्ठ सहकारी क्षेत्रका प्रखर व्यक्तित्वको रुपमा परिचित छन् । उनी सहकारी क्षेत्रको वित्तीय योजना र मानव संशाधन व्यवस्थापनमा पनि विशेष दख्खल राख्छन् । यस अघि सन् २०११ मा पनि उनी नेफ्स्कुनबाटै उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भइसकेका छन् ।