१४ किलो सुनसहित पक्राउ गिरोहले १३८ किलो सुन नेपाल भित्र्याइसकेको समितिको निष्कर्ष
काठमाडौं । १४ किलो सुनसहित पक्राउ परेको गिरोहले १३८ किलो सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ किलो सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ किलो सुन नेपाल भित्र्याएकोमा १४ किलो मात्रै बरामद गरिएको जनाएको छ ।
समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए । मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।
घलेले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ ।