चेपाङ समुदायलाई औषधि वितरण

चितवन । चितवनको इच्छाकाना–१ भारांगको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइमार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।

सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो ।
चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका लागि समेत सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । ‘एम्बुलेन्स उपलब्ध गराउन पनि पहल गरिरहेका छौँ,’ उनले भने ।

गाउँपालिकाले सीमित मात्रामा औषधि सहयोग गर्ने गरेको स्वास्थ्य एकाइ भारांगका प्रमुख कमला हमालले बताए । ‘बिरामीलाई औषधि दिन सकिएको थिएन, निःशुल्क औषधि उपलब्ध भएपछि तत्काललाई समस्या टरेको छ,’ उनले भने ।

गाउँमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइमा सेवाग्राहीको चाप बढेसँगै औषधि अभाव भएको थियो । निःशुल्करुपमा हस्तान्तरण गरिएको औषधिले ठूलो राहत मिलेको इच्छाकामना गाउँपालिकाका सदस्य शङ्खबहादुर चेपाङले बताए । यहाँ चेपाङ समुदायका बालबालिका कुपोषणबाट ग्रस्त छन् । उनीहरू घाउ खटिराबाट समेत पीडित छन् । यहाँका स्थानीय उपचारका लागि सदरमुकाम भरतपुर र काठमाडौं जानुपर्ने बाध्यता छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *