बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका ७३ जना रिहा
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको शनिबार साँझसम्म प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले पक्राउ परेकाहरूलाइ मुद्दा नचलाउने गरि छाडिएको बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी र भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
उनीहरुलाई प्रहरीले पक्राउ गरी गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको थियो । तर जनस्तरबाट सरकारको चर्को आलोचना भएपछि उनीहरुलाई छाडिएको हो ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।