उद्योगीले बढीमा ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बढीमा ६० किस्तासम्म बिजुलीको महसुल तिर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए । विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सवस्टेसनबाट अर्को सबस्टेशन जोड्ने लाइन) बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकरुलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि नेपाल विद्युत् प्राधिकरणले पटक(पटक ताकेता गरेको थियो ।
तर महसुल बुझाउन अस्वीकार गरेको भन्दै प्राधिकरणले यही पुस ६ गतेबाट बिजुलीको लाइन काट्न सुरु गरेको थियो । प्राधिकरणले २३ उद्योगको विद्युत् लाइन काटिदिएको छ । आम सर्वसाधारण उपभोक्ताले बिगतमा दैनिक रुपमा १७र१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेका बेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकहरुले भने डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी समयसम्म बिजुली पाएका थिए । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका कुल ६१ उपभोक्ताहरुबाट २०८० मंसिर मसान्तसम्म २२ अर्ब २४ करोड रुपैयाँ उठाउन बाँकी रहेको प्राधिकरणको भनाइ छ । यसैबीच बारा पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत खपत गरेवापतको पहिलो किस्ताको रकम बुझाएको छ । नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले हिमाल स्टिलले पहिलो किस्ता वाफत २७ लाख १० हजार रुपैयाँ बुझाएको बताए । पहिलो किस्ताको रकम बुझाएकै दिन सोमबार राति सवा ९ बजे सो उद्योगमा विद्युत् लाइन पनि जोडिदिएको उनले जानकारी दिए । हिमाल स्टिलले ८ करोड १२ लाख रुपैयाँ नबुझाएको भन्दै गत शुक्रबार प्राधिकरणले बिजुलीको लाइन काटिदिएको थियो । हिमाललाई सबै रकम ३६ किस्तामा चुक्ता गर्न प्राधिकरणले भनेको छ ।