रूपान्तरण अभियानबारे माओवादीको समीक्षा जनतामा आशाको झिल्को देखियो
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्धारित लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरेको छ ।
मंगलबार पार्टीले आयोजना गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा सहित समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले टोल कमिटीदेखि संगठन सक्रिय र चलायमान भएको भन्दै अभियान सफल भएको बताएका हुन् ।
‘हाम्रो अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ भन्ने लागेको छ । टोल कमिटीदेखि संगठन सक्रिय भएका छन्,’ उनले भने, ‘सबै तह चलायमान भएका छन् । सारमा भन्दा कार्यकर्ताहरूमा जागृति आएको छ ।’
अभियानपछि चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशाको झिल्का पलाएको भन्दै उनले भने, ‘यो अभियानले चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशाको झिल्का पैदा भएको छ ।’