नौ कम्पनी कालोसूचीका लागि सिफारिस
काठमाडौं । ठेक्का लिएका विभिन्न योजनामा सम्झौता अनुसार काम नगरेका नौ कम्पनीको नाम कालोसूचीमा राख्न सिफारिस भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण मागेको छ। विद्युत प्राधिकरण, नेपाल प्रहरी, सडक विभागको सडक सुधार तथा विकास आयोजना निर्देशनालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयसँगै विभिन्न स्थानीय तहले कम्पनीको नाम सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएका हुन्। काठमाडौंका पुष्पाञ्जली कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, प्रनिश इन्टरनेसनल प्रालि, कोशी निर्माण सेवा, दीनेशचन्द्र आर अग्रवाल इन्फ्राकन शंकरमाली निर्माण सेवा जेभी, सत्यश्वरी कन्स्ट्रक्सन, पाँचखाल निर्माण सेवा, वीरेन्द्रनगरको भेरी इन्जिनियरिङ वर्कसप , मामा भान्जा निर्माण सेवा उदयपुर र भारतीय कम्पनी अर्भली इन्फ्रापावर न्यु दिल्लीसँग स्पष्टीकरण मागिएको हो। विद्युत प्राधिकरण प्रधान कार्यालयले अर्भली इन्फ्रापावर न्यु दिल्लीको नाम पठाएको छ। यसका मुख्य व्यक्ति दिल्लीका राकेश जोली छन् भने नेपाली प्रतिनिधि भूषण थापा छन्।
नेपाल प्रहरीको प्रधान कार्यालयले धुम्बाराहीको प्रनिश इन्टरनेसनल प्रालिको नाम पठाएको छ। यसका मुख्य व्यक्ति प्रेमकृष्ण श्रेष्ठ छन्। खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धुलिखेलले नयाँ बानेश्वरको पाँचखाल कन्स्ट्रक्सन प्रालिको नाम पठाएको छ। यसका मुख्य व्यक्ति प्रेमप्रसाद अधिकारी छन्। सडक विभागको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले दीनेशचन्द्र आर अग्रवाल इन्फ्राकन शंकरमाली निर्माण सेवा जेभी काठमाडौंको नाम पठाएको छ। यसका मुख्य व्यक्ति जगदीशचन्द्र अग्रवाल र धनबहादुर कार्की छन् । नवलपरासीको बर्दघाट नगरपालिकाले पुष्पाञ्जली कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि काठमाडौंलाई कालोसूचीका लागि सिफारिस गरेको छ। यसका मुख्य व्यक्ति हरिदेव पाण्डेसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण पेस गर्न भनेको छ। सल्यानको कुमाख गाउँपालिकाले सुर्खेतको न्यू भेरी इन्जिनियरिङ वर्कसपलाई कालोसूचीमा राख्न नाम पठाएको छ। यसका मुख्य व्यक्ति मुख्य व्यक्ति वेगेन्द्रजंग धर्मशाखा छन्। सिन्धुलीको सुनकोशी गाउँपालिकाले सिनामंगलको कोशी निर्माण सेवाको नाम सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको छ। यसका मुख्य व्यक्ति श्यामबहादुर जर्घामगर छन्। यस्तै इलामको सूर्योदय नगरपालिकाले उदयपुर त्रियुगाको मामाभान्जा निर्माण सेवाको नाम पठाएको छ। यसका मुख्य व्यक्ति राजकुमार रावत छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले काठमाडौंको सत्यस्वरी कन्स्ट्रक्सन प्रालिको नाम पठाएको छ। यसका मुख्य व्यक्ति दशरथ वाइवा छन्। निर्माण व्यवसायी,आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखिआएकाले सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० (तीस) दिनभित्र लिखित स्पष्टीकरण दिन सूचना पठाइएकोमा प्रतिक्रिया नआएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। अब ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (एक) को प्रयोजनार्थ सूचना प्रकाशित गरिएको बिहीबार जारी सूचनामा उल्लेख छ।