सुदूरपश्चिम सरकार हेरफेर गर्न माओवादीका बहुमत सांसदको माग

काठमाडौं । नेकपा माओवादी सुदूरपश्चिम संसदीय दलका बहुमत प्रदेशसभा सदस्यहरूले सरकार हेरफेर गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी प्रदेश संसदीय दलका प्रमुख सचेतक मानबहादुर धामीसहित बहुमत सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सुदूरपश्चिम सरकारको विषयमा गम्भीर हुन आग्रह गरेका हुन् ।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ राज्य मन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन् । राज्य मन्त्री गीता माल हुन् । प्रधानमन्त्रीलाईै भेटेर तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्नेमा आग्रह गरिएको प्रमुख सचेतक धामीले बताए ।

उनले भने, ‘सरकार निकै सुस्त भयो । हाम्रो पार्टीबाट सरकारमा जानु भएकाहरूले पनि धेरै काम गर्न सक्नु भएन । हाम्रा मन्त्रीलाई फिर्ता बोलाउन र सरकार हेरफेर गर्न हामीले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई आग्रह गरेका छौँ ।’
सुदूरपश्चिम प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सांसद छन् । बालुवाटारमै सरकार हेरफेर गर्न ७ जना पुगेपछि प्रधानमन्त्री प्रचण्ड पनि गम्भीर भएका थिए ।

प्रदेश सभामा बहुमत प्रदेश सभा सदस्यहरुलेनै सरकारमा गएका आफ्ना पार्टीका मन्त्रीहरू सुस्त भएको, सरकारको काम प्रभावकारी नभएको लगाएतका गुनासो आएपछि यस विषयमा ठोस कदम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *