सुदूरपश्चिमबाट कांग्रेसका भट्ट र बोहराले गराए उम्मेदवारी दर्ता
काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ। गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका नारायण दत्त भट्ट र बलदेब बोहराले उम्मेदवारी दर्ता गराएका हुन्।
सोमबार अपरान्ह धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। भट्ट नेपाली कांग्रेस कैलाली जिल्ला अध्यक्ष हुन् । उनी २०६२/६३ सालको जनआन्दोलनमा घाइते भएका थिए। बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधान सभा सदस्य हुन्।
यसअघि नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराइसकेकी छन्। उनको समर्थकमा उद्योग राज्यमन्त्री गीता माला र प्रस्तावकमा प्रदेश सभा सदस्य जानकी देवी कुवर रहेका छन्। चन्द पूर्वसंविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् ।
गठबन्धनले सुदूरपश्चिममा कांग्रेसलाई अपांग र अन्यमा गरी २ सीट र नेकपा माओवादीलाई महिला कोटाको १ सिट दिने निर्णय गरेको थियो।