उद्योगको काटिएको बिजुलीको लाइन जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ ।

शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।

मन्त्रिपरिषदको बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएको भन्दै शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । मन्त्रिपरिषद बैठकले गठन गरेको जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई नेपाल सरकारबाट निर्णय नभइन्जेलसम्मका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिने निर्णय प्राधिकरण सञ्चालक समितिका सदस्यले जानकारी दिए ।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवाद ०७५ वैशाखबाट लोडसेडिङ अन्त्य भएपछि चर्किएको थियो । लोडसेडिङका समयमा डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् जडान गरिपाऊँ भनी प्राधिकरणमा निवेदन नदिएको तर प्राधिकरणले पछि अतिरिक्त महसुलको बिल काटेको भन्दै उद्योगीहरु रकम नतिर्ने अडानमा छन् । उनीहरुले टीओडी मिटरका आधारमा तिर्नुपर्ने रकम तिर्न तयार रहेको बताउँदै आएका छन् ।

लोडसेडिङ अन्त्यपछि पनि डेडिकेटेड र ट्रंकलाइन शीर्षकमा विद्युत् उपयोग गरेको भनी ६७ प्रतिशत महँगो बिल प्राधिकरणले पठाएको भन्दै उद्योगीले यो विवादित विषय भएको र समस्या समाधान गरिदिन सरकारसमक्ष निरन्तर आग्रह गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *