रुस-युक्रेन युद्धमा परी थप एक नेपालीको मृत्यु

काठमाडौं । रुस-युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएका उनी रूसी सेनामा भर्ती भएको र पुस १४ गते मृत्यु भएको खबर मंगलबार आएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए । साजन वाइसिएल दूधपोखरी गाउँपालिकाका अध्यक्ष समेत थिए ।

साजनका पिता श्रीमान गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए । तर साजन रूसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो ।

साजन पुस १४ गतेसम्म परिवारको सम्पर्कमै थिए। योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । दर्जन बढी नेपाली युवाका शव रुस स्थित शवगृहमा राखे पनि सरकारले स्वदेश ल्याउन सकेको छैन । बरु रूसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्यामा बढोत्तरी भइरहेको छ । १ सय ३३ परिवारले आफ्ना परिवारका सदस्यहरू त्यहाँ जोखिममा परेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् ।

सरकारले आफ्ना नागरिकहरूलाई रूसी सेनाबाट फिर्ता गराउन पहल गरिरहेको बताए पनि सफलता पाएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *