कैलाश हेलिकप्टरले प्रिमियममा आईपीओ जारी गर्ने

काठमाडौं । कैलाश हेलिकप्टरले प्रिमियममा सेयर आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक प्रताप जङ्ग पाण्डे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पूँजी ३५ करोडको १० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने प्रक्रिया अघि बढाएको छ । ३ करोड ५० लाख रुपैयाँ सेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ३,५०,००० कित्ता साधारण सेयर प्रचलित कानूनको अधिनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मुल्यमा जारी गर्ने कम्पनीले जनाएको छ । सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको यस कम्पनीले एयरबस कम्पनी फ्रान्सद्वारा निर्मित एएस३५० सेरिजको ३ वटा हेलिकप्टर मार्फत उच्चस्तरिय विविध सुविधा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व.०७६।२०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ ।

कम्पनीले आ.व.२०७९।२०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशतका दरले नगद लाभांस वितरण गरेको छ । उक्त बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको बोनस वितरण पश्चात किताबी मुल्य १४६.२९ रुपैयाँ कायम रहेको कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ थान हेलिकप्टर पुरयाउनु पर्ने भनी जारी गरिएको नितिलाई अनुसरण गर्दै पूँजी बृद्घि गरी सुरक्षा नितिको पूर्ण पालना गरी सन् २०२५ मा १ थान र सन् २०२७ मा १ थान गरी थप २ थान हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकप्टर सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *