दुई वर्षपछि सेयर र घरजग्गा कारोबारमा उच्च वृद्धि

काठमाडौं । दुई वर्षदेखि शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा उल्लेख्य वृद्धि भएको छ । पुसमा मात्र एक लाख ३६ हजार ७ ७३ वटा घरजग्गासम्बन्धी कार्य हुँदा सरकारलाई एकै महिनामा तीन अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसमा कुल ४५ हजार २७७ वटा लिखत पारित भएका छन् । यो गत मंसिर महिनाको भन्दा ८ प्रतिशतभन्दा बढी हो । मंसिरमा घरजग्गा कारोबारबाट दुई अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । मंसिरको तुलनामा पुसमा राजस्व संकलन पनि ३५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांक विभागको छ ।

सरकारले स्थानीय तहमार्फत घरजग्गाको वर्गीकरण गरी कित्ताकाट खुकुलो पारेपछि कित्ताकाटको संख्या पनि बढेको छ । यही अवधिमा बैंकहरूमा लगानीयोग्य रकम बढ्न थालेको तथा बैंकहरूको ब्याजदर पनि निरन्तर रूपमा घट्न थालेकाले घरजग्गाको कारोबार बढेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाउँदै साउनबाट कित्ताकाट खुलाए पनि कारोबार भने बढ्न सकेको थिएन ।

तर, अहिले बजारमा आर्थिक मन्दी बिस्तारै हट्न थालेकाले र बैंकहरूमा पनि तरलता बढेका कारण जग्गाको कारोबार बढेको आँकलन गरिएको छ । विभागका अनुसार पुसमा भएको घरजग्गा कारोबार दुई वर्षयताकै अधिक हो । यस्तै, सेयर बजारमा करिब दुई वर्षयताकै उच्च अंकको कारोबार भएको छ । लामो समयदेखि सुस्त सेयर बजारमा मंगलबार आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको कारोबार भयो ।

आइतबारको तुलनामा नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुग्दा सेयर कारोबार तीन अर्बले बढेको हो । आइतबार पाँच अर्ब चार करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसअघि २० माघ ०७८ मा आठ अर्ब ६९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो । त्यतिवेला नेप्से २८७६.७४ विन्दुमा थियो ।

नेप्से बढ्ने क्रममा मंगलबार आठ अर्बको कारोबार भएको छ । ०७८ माघ २० मा नेप्से ओरालो लाग्ने क्रममा भएको थियो । त्यतिवेला नेप्से क्रमशः घट्ने क्रममा थियो, अहिले भने नेप्से बढ्ने क्रममा कारोबार ह्वात्तै बढेको छ । यो करिब ६ महिनायताकै उच्च विन्दु हो । घरजग्गा र सेयर बढेसँगै अर्थतन्त्र सुधारमा आएको विज्ञहरुको भनाइ छ । विदेशी मुद्राको सञ्चिति बढ्नु, रेमिट्यान्स उच्च दरले भित्रिनुले चाँडै नेपालको अर्थतन्त्र पहिलेकै अवस्थामा पुग्ने प्रक्षेपण गर्न थालिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *