सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक सदन खुल्नेबित्तिकै टुंग्याइने बताएका हुन् । विधेयक सदन खुल्नेबत्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ’ प्रधानमन्त्री प्रचण्डले चने । उनले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।
‘हामी गति लिने कोसिस छौँ,’ प्रधानमन्त्रीले भने । उनले नेपालको व्युरोक्रेसी क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको भन्दै आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए । प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको पनि बताए । आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस–युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’
उनले अवैध तरिकारले विदेशी सेनामा भर्ती हुनु हुँदैन भनेर जनचेतना फैलाउन मिडियाहरुलाई आह्वान पनि गरे । ‘मिडियाहरुले जनतामा चेतना फैलाउन पर्यो । जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ बाटो छलेर जाने गर्न भएन भनेर जनचेतना फैलाउन पर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।