मालपोतका तत्कालीन नायव सुब्बा र लेखापाल भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नगेन्द्रप्रसाद चौधरीलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायणसिंह राई र जितेन्द्र थापाको इजलासले भ्रष्टाचार कसुर ठहर गर्दै सजाय निर्धारण गरेको हो । गत पुस २५ मा कसुर ठहर गरेको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । नासु गुप्ताको भ्रष्टाचारमा विगो ४७ लाख ५४ हजार १७ रुपैयाँ कायम गरी ९५ लाख ९ हजार ३४ रुपैयाँ जरिबानासहित पाँच वर्ष कैद हुने फैसला गरेको हो ।
यस्तै, लेखापाल चौधरीलाई विगो ४७ लाख ५४ हजार १७ रुपैयाँ कायम गरी ९५ लाख ९ हजार ३४ रुपैयाँ जरिबानासहित चार वर्ष कैद सजाय निर्धारण गरेको हो । नायव सुब्बा गुप्ताले लिखत रजिष्ट्रेसन पारित हुँदा प्राप्त हुने राजस्व उठाउने र उठेको राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउनुको साटो नबुझाई आफैँले राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ चैत १२ गते मुद्दा दायर गरेको थियो । आयोगले नासु गुप्ता र लेखापाल चौधरीबाहेक आर्थिक वर्ष ०७२र७३ मा कार्र्यालय प्रमुख भएर काम गरेका प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मालाई पनि विपक्षी बनाएको थियो । तर, विशेष अदालतले कार्यालय प्रमुखद्वयलाई भने सफाइ दिएको छ ।