राष्ट्रियसभा निर्वाचन : निर्वाचन निष्पक्षरूपमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न- गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले कानुनी व्यवस्था बमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदानकार्य समाप्त नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।

आयोगले प्रचारप्रसार निषेधको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को ब्यवस्था बमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रर्दशन गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरुमा आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्न निर्देश गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *