कोशीमा फ्लोर क्रस गर्नेलाई गठबन्धनले कारबाही गर्ने
काठमाण्डौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी भएका थिए। कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेको थियो। तर विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा पनि महिला उम्मेदवार रहेकी माओवादीकी चम्पादेवी कार्की पराजित बनेकी थिइन्। उनलाई एमाले उम्मेदवार रूक्मिणी कोइरालाले पराजित गरेपछि कोशी प्रदेशका माओवादी नेताहरूले कांग्रेसले बेइमानी गरेको बताएका थिए। उनीहरूले कांग्रेसकै कारण माओवादीले कोशीमा लगातार क्षति सहनुपरेको भन्दै सहकार्य तोड्ने चेतावनीसमेत दिएका थिए।
शुक्रबार विराटनगरस्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको गठबन्धनका प्रदेश नेताहरूको बैठकले चुनावमा फ्लोर क्रस गर्ने कार्यलाई गैरजिम्मेवार र निकृष्ट कार्य भन्दै फ्लोर क्रस गर्नेहरूबारे छानबिन गरेर कारबाही गर्ने निर्णय गरेको छ। बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरूले मत क्रस गर्नेलाई कारबाही गरेर गठबन्धन बलियो पार्ने बताएका छन्।नेपाली कांग्रेस दलका नेता उद्धव थापा, माओवादी नेता इन्द्र आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्र राई र जसपाकी नेता निर्मला लिम्बूले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। बिहीबार भएको मतदानमा सत्ता गठबन्धनका तीन जना प्रदेश सांसद र १७ जना स्थानीय तहका जनप्रतिनिधिले फ्लोर क्रस गरेर एमालेलाई मत दिएका थिए।