नेपालका नेताहरूलाई प्रभाव पार्न चिनियाँ नेताको दौडधूप
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलले प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरूसँग नेपाल–चीन सम्बन्धबारे छलफल गरेको छ ।
नेपालको चारदिने भ्रमणमा शुक्रबार आएकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान काठमाडौंमा छिन् । नेपाल आएलगत्तै उनले राजनीतिक दलका शीर्ष नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता गरिन् । पछिल्लो समय नेपालमा चिनियाँ चलखेल तीव्र बढेको छ । हरेक पन्ध्र वा एक महिनामा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने गरेका छन् । नेपालमा भारतसहित पश्चिमा देशको प्रभाव नपरोस् भन्दै चीनले आफ्नो नेताको बाक्लो भ्रमण काठमाडौंमा गराउँदै आएको छ ।
अधिकांश राजनीतिक भेटमा चिनियाँ उपमन्त्रीको चासो थियो, नेपालमा सञ्चालित चिनियाँ परियोजना । भेटका क्रममा उनले नेपालमा सञ्चालित परियोजनामा देखापरेका समस्या समाधानका लागि पहल लिइदिन नेताहरुलाई आग्रह गरिन् ।
गत पुसमा मात्रै सरकारले निर्माणमा ढिलाइ गरेको भन्दै त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको जिम्मा लिएको चिनियाँ कम्पनी सुइफा एएन एचई ग्रुपसँगको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । यस्तै, चिनियाँ कम्पनीले जिम्मा लिएका चक्रपथ दोस्रो खण्डको काम पनि साइट क्लियरेन्स नहुँदा अघि बढ्न सकेको छैन भने उत्तर-दक्षिण करिडोरको काम पनि हुन सकेको छैन । यी आयोजनाको सम्झौता तोडेकोमा चीनले आफ्नो असन्तुष्टि नेताहरूलाई पोखेको हो ।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, कांग्रेस केन्द्रीय सदस्य शशांक कोइराला, रास्वपा नेता शिशिर खनाल, राप्रपा नेता सगुन लावतीलगायत सहभागी थिए । चिनियाँ नेतृ सुन र नेपालका लागि चिनियाँ राजनूत सोङले नेपाली नेतालाई भारत, अमेरिकालगायतले चीनको विषयमा भ्रम फैलाएको भनेर आक्रोश पोखेका थिए ।
उपमन्त्री सुनले काठमाडौं उत्रिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेकी थिइन् । त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेतासँग भेट गरेकी थिइन् । सीपीसीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्रीको जिम्मेवारी सम्हाल्नुअघि उनी सिंगापुरका लागि राजदूत थिइन् ।