बाँसबारी जग्गा हिनामिना प्रकरण : पक्राउ पर्नेको संख्या तीन पुग्यो

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले अरुण चौधरी, अजितनारायण सिंह थापापछि थप एकजनालाई पक्राउ गरेको छ ।

चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दियो । ‘बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने क्रियामा ठाकुर समेतको प्रत्यक्ष संलग्नता रहेको देखिएकाले उनलाई पनि पक्राउ गरिएको हो,’ सीआईबी स्रोतले भन्यो ।

उद्योगी चौधरीलाई बिहीबार अपराह्न लाजिम्पाटस्थित आफ्नै घरबाट सीआईबीले पक्राउ गरेको थियो भने थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन महिनादेखि अनुसन्धान गरिरहेको पाइएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरेको सीआईबीकी निर्देशक किरण बज्राचार्यले जानकारी दिइन् । उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरु संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो ।

तीनै जनामाथि अनुसन्धान गर्न भनेर सीआईबीमा वडा नम्बर ३ का ४८ जनाले उजुरी दिएको स्रोतको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *