हुन्डाई एक्सटरको बुकिङ खुला
काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित एसयूभी एक्सटरको बुकिङ आज (बिहीबार)देखि खुला गरेको छ । कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो सोमा प्रदर्शनमा राखेको गाडीको बिक्री खुला अहिले गरेको हो । हुन्डाईले पाँच सिटर एसयूभी मोडेलको लाइनअपमा हुन्डाई भेन्यूभन्दा अघि रहने पहिलो एसयूभी एक्सटर भएको बताएको छ । गत जुलाईमा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी)को विजेता समेत बनेको छ ।
एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको कम्पनीले जनाएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरलगायत विशेष फिचर रहेको कम्पनीले जनाएको छ। हुन्डाईको १.२ लिटर पेट्रोल इन्जिन जडित एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । गाडीमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । एक्सटर एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर र पहिलोपटक ६ वटा एयरव्याग राखिएको कम्पनीले जनाएको छ । गाडीमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अन्य सुरक्षित, कन्भिनियेन्ट र कम्फर्ट फिचर रहेको बताइएको छ। ६ किसिमका रङमा उपलब्ध एक्सटरका ई, एस र एसएक्स गरी तीन भेरियन्ट रहेको कम्पनीले जनाएको छ । ई भेरियन्टको मूल्य ३४ लाख ९६ हजार, एस भेरियन्टको ४० लाख ९६ हजार र एसएक्सको मूल्य ४४ लाख ९६ हजार रहने कम्पनीले जनाएको छ ।