माओवादी रूपान्तरण अभियानको समीक्षा गरिने
काठमाडौं । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले सत्तारूढ दल नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ । आइतबारदेखि सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानका बारेमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समीक्षा र दोसो दिन विधानका बारेमा छलफल गरिने माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा नेतृत्व चयनको प्रक्रिया र पार्टीभित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल गरिएको उनले बताए । बैठकमा जनवादको उत्तम अभ्यास भएको र सबै विषयमा स्थायी कमिटी सदस्यले खुलेर कुरा राखेको उनले उल्लेख गरे । प्रवक्ता सापकोटाले विधान सम्मेलनमा १३ सय प्रतिनिधिको कुरा सुनेर विधानलाई अन्तिम रूप दिइने बताए । यस्तै, बैठकमा संविधानानुसार पार्टीको विधि र संरचनालाई अघि बढाउनुपर्नेमा नेताहरूले जोड दिएका थिए । माओवादीको केन्द्रीय कमिटी यही माघ २८ र २९ र फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरिएको छ ।