देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठायो : महामन्त्री विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसी सेनामा पठाइएको बताएका छन् ।
आइतबार बसेको संसद्को राज्य व्यवस्था समितिमा बोल्दै कांग्रेस सांसदसमेत रहेका शर्माले मस्कोबाट फर्किँदै गरेका नेपाली युवालाई रूसी सेनाले पक्राउ गरेर लगेको बताएका हुन् । ‘रूसी सेना छोडेका नेपालीलाई मस्कोस्थित नेपाली दूतावासले स्वदेश पठाउँदासमेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ ? जसले छोडेर जान्छु, नेपाल फर्कन्छु भन्नु भएको छ । उहाँहरूका लागि राज्यले के गर्दैछ ?,’ उनले प्रश्न गर्दै सोधे ।
सयौँ नेपाली रसियन सैनिकको कब्जामा रहेका बताउँदै उनले भने, ‘उनीहरूको अवस्थाबारे सरकारलाई थाहा छ ? यसलाई लिएर सरकारको सम्पर्क रसियाससँग छ ? रूसी सेनामा रहेका नेपालीको संख्या कति छ ? सरकारसँग विवरण छ ?’
साथै महामन्त्री शर्माले अवस्था सहज हुँदा नागरिकलाई राज्य नभए पनि चल्ने बताए । ‘अवस्था सहज हुँदा राज्य नभए पनि हुन्छ । तर, यस्तो असहज र युद्धको अवस्थामा राज्यले उपस्थिति देखाओस्’, उनले भने ।