अर्धवार्षिक बजेट समीक्षा सार्वजनिक,२ खर्ब २० अर्बले बजेटको लक्ष्य संकुचन

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०८०।८१ को बजेटको संशोधन गरेको छ । चालु बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको घोषणा गरेका हुन् । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् । यो कुल बिनियोजित रकमको ८७.३८ प्रतिशत हो । चालू आवका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सरकारले सुधारको प्रयास गर्दा गर्दै लक्ष्य अनुसार आम्दानी बढ्न नसकेकाले सरकाले खर्चको अनुमान घटाउनु परेको अर्थमन्त्री महतले जनाए । महतले चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब खर्च हुने बताए । पूँजीगत खर्चतर्फ चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ५० अर्ब ४४ करोड ८८ लाख खर्च भएको र बाँकी अवधिमा हुने पूँजीगत खर्चको अनुमान समेतका आधारमा बाँकी अवधिमा थप २ खर्ब ३ अर्ब ६८ करोड ६१ लाख पुँजीगत खर्च हुने अनुमान गरिएको छ।

हालसम्म भएको खर्च र बाँकी अवधिमा हुने खर्च समेत गरी चालु आर्थिक वर्षमा पुँजीगततर्फ विनियोजन रकमको ८४.१३ प्रतिशत अर्थात २ खर्ब ५४ अर्ब १३ करोेड १९ लाख खर्च हुने संशोधित अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्व र आन्तरिक ऋणबाट गरी जम्मा १४ खर्ब ८८ अर्ब ६२ करोड, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड ३० लाख र वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७४ करोड ९१ लाख रहने अनुमान गरिएको थियो। समीक्षा अवधिसम्म नेपाल सरकारको स्रोतबाट ५ खर्ब ३९ अर्ब ७७ करोड ९३ लाख, वैदेशिक अनुदानबाट ५ अर्ब ४० करोड ५४ लाख र वैदेशिक ऋणबाट २८ अर्ब ४४ करोड ८२ लाख खर्च भएको छ । चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकार स्रोततर्फबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख खर्च हुने संशोधित अनुमान छ । वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख खर्च हुने र वैदेशिक ऋणतर्फको १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान रहेको छ। विकास निर्माण कार्यले गति लिई पुँजीगत खर्चमा वृद्धि हुने, आर्थिक ऐनले गरेका मू।अ।कर तथा अन्तःशुल्क छुटका सूचीका खारेजी, नयाँ क्षेत्रमा लगाइएका कर लगायतका कारणबाट लक्षित राजस्व सङ्कलन हुने अनुमान रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *