बीपी कोइराला प्रतिष्ठानमा गतिरोध अन्त्य गर्न ६ बुँदे सम्झौता
काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्य गर्ने सम्बन्धमा ६ बुँदे सम्झौता भएको छ । नियमित वृत्ति विकासको माग गर्दै शिक्षक,कर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन सुचारु हुनुपर्ने माग राखी विद्यार्थीहरू पनि रिले अनसनमा थिए । आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन बिच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा सहमति भएको हो । जसअनुसार अनुसार मिति २०७९।०९।२० तथा २०७९।१०।२५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापन बमोजिम सुरु भई स्थगित रहेको अन्तर्वार्ता मिति २०८०।११।०६ गतेबाट सुरु गरि संलग्न तालिका बमोजिम सम्पन्न गर्ने तथा सो को नतिजा अन्तर्वार्ता समाप्त भएको मितिले १ हप्ताभित्र प्रकाशित गर्ने सहमति भएको छ । त्यस्तै भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू प्रति प्रतिष्ठान व्यवस्थापन पक्षबाट पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने र नगराउने भनिएको छ ।
भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति गरिएको छ । वर्तमान परिस्थितिका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई गम्भीरतापूर्वक मनन गर्दै तत्कालै पठनपाठन सुचारु गर्ने र त्यसबाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनीकरण गरिने सहमतिमा उल्लेख छ । साथै भविष्यमा पठनपाठनको कार्यमा असर पुग्नेगरि कुनै गतिविधि नगर्नरनगराउन सबै सरोकारवाला पक्ष प्रतिबद्ध रहने बताइएको छ । शिक्षक तथा कर्मचारीहरूको जारी भद्र अवज्ञा आजकै मितिबाट स्थगित गरि आ(आफ्नो नियमित कार्यमा संलग्न हुने सहमतिमा भनिएको छ । त्यस्तै विद्यार्थीहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरि नियमित पठनपाठनमा सहभागी हुने सहमतिको छैटौँ बुँदामा भनिएको छ ।