आज सरस्वती पुजा ,विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै
काठमाडौ । आज, सरस्वती पूजा यसलाई हामी ‘बसन्त पञ्चमी’अथवा ‘श्रीपञ्चमी’ भन्छौं । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि आजको दिन राम्रो साइत हो । त्यसकारण पनि आजको दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात अक्षराम्भको उपयुक्त अवसर सरस्वती पूजालाई मानिन्छ ।
बर्षभर मूख्य तीन देवीको पूजा विषेश हुनगर्दछ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी देवी । सरस्वती विद्याकी देवी ।
सनातन धर्ममा प्रतीकको धेरै अर्थ हन्छ । त्यही भएर देवीदेवताहरुलाई पनि प्रतीकात्मक रुपमा प्रस्तुत गरिन्छ। जीवनमा पूर्णता हासिल गर्नका लागि अतिआवश्क तीन चिजको खास महत्व हुन्छ जहाँ धन, विद्या र शक्ति । आज विद्याकी देवीको पूजा गरिने दिन । विद्या,ज्ञान र शिक्षा वास्तवमा त्यही चिज हो जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ ।
आजका दिन संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
कसरी पूजा गर्ने ?
यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ ।