युनाइटेड अजोड इन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन
काठमाडौं। युनाइटेड अजोड ईन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन हुने भएका छन् । पाँच जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध हुने भएका हुन् । कम्पनीले समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा समूह खका सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद २ जनाको निर्वाचन गर्ने तालिका प्रकाशन गरेको थियो ।
जसमा संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट २ जनाको मात्र उम्मेदवारी परेको हो । संस्थापकतर्फहाल अध्यक्ष रहेका आजाद श्रेष्ठ र हालका सञ्चालकद्वय प्रणवकुमार दास र बलराम खनालले उम्मेदवारी दिएका हुन् । दासले सिजी फुड्स र खनालले चौधरी ग्रुपको तर्फबाट उम्मेदवारी दिएका हुन् । सर्वसाधारण तर्फ पानुदत्त पौडेल र शम्भु अधिकारीले उम्मेदवारी दिएका छन् । पानुदत्त हाल पनि संचालक छन् भने अधिकारी नयाँ अनुहार हुन् । आइतबार हुने कम्पनीको वार्षिक साधारण सभाले उनीहरुलाई संचालक चयन गर्ने छ ।