वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू लगाएको हो ।
रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जनका क्रममा भएको झडपको विषयलाई लिएर वीरगञ्जमा प्रदर्शन भएपछि प्रशासनले कर्फ्यू लगाएको हो । वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन् ।