हाम्रो साकोस २६औं वर्षमा
हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २५औं वर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ। गत वर्षभर संस्थाले संकल्प गरेका विभिन्न २५ ओटा कार्यक्रम सम्पन्न गरी रजत वर्ष मनाएको थियो । ‘आपसी सहयोग, सदभाव र सामुहिक हितका लागि सहकारी’ भन्ने संकल्पका साथ ललितपुर जिल्लाका विकट ग्रामिण भेगबाट विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका लागि काठमाण्डौ उपत्यकामा आएर बासोबास गर्ने समुदायको प्रतिधित्व गर्दै २९ जना व्यक्तिबाट दर्ता भई ४९ जनाको सहभागितामा स्थापित संस्थाले २०५५ फागुन १३ गते कारोबार शुरु गरेको थियो । २०७२ सालको विनाशकारी भूकम्प, कोभिड १९ को महामारीका बीचमा पनि सदस्यहरुलाई घरघरमा गएर वित्तीय सेवा प्रदान गरेर या विश्वव्यापी आर्थिक मन्दी र वित्तीयक्षेत्रमा तरलताको संकुचन परेको अवस्थामा वित्तीय सन्तुलन कायम गरि सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले २५ औं वर्षे यात्रामा थुप्रै आरोह अवरोहको सामना गर्दै आफ्ना सदस्य, समुदाय तथा सरोकारवाला निकायहरु प्रतिको उत्तरदायित्व निर्वाह गर्दै नियमित सेवा प्रदान गरिरहेको जनाएको छ । त्यस अवधिमा आवद्ध सदस्यहरुमा बचत सम्बन्धि सचेतना जगाई बचतलाई बानीको रुपमा विकास गर्दै पूँजी निर्माण गर्ने र संकलित पूँजीलाई उत्पादनशील र उद्यमशील क्षेत्रमा ऋण लगानी गर्ने, सदस्यहरु तथा समुदायमा वित्तीय सचेतना फैलाउने, विभिन्न विषयहरुमा जनसचेतना फैलाउने, सदस्यका विभिन्न अवस्थामा समाजिक सुरक्षाका कार्यहरु गर्ने, सामुदायिक सचेतना तथा सामाजिक विकासमा सहकार्य गर्ने समयानुकुल प्रविधिमा आधारित अत्याधुनिक सेवा सहित समुदाय र सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक कार्य गर्दै आएको छ भने दिगो वित्तीय सेवा र वित्तीय सक्षमताका लागि संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ ।
देशमा तरलता संकुचनको समयमा समेत पर्याप्त तरलता व्यवस्थापन गरी बचत तथा ऋण कारोबारलाई नियमित सञ्चालन गरिरहेको संस्थामा ७१८० जना सदस्य आवद्ध रहेका छन् । संस्थाले हालसम्म १६ करोड २७ लाख शेयर पूँजी १३ करोड ७३ लाख संस्थागत पूँजी, १ अर्ब २१ करोड ३३ लाख बचत, १ अर्ब ३१ करोड ७८ लाख ऋण लगानी गरी कुल सम्पत्ति रु। १ अर्ब ७२ करोड २७ लाख पुर्याउन सफल भएको छ । हाल संस्थामा ऋणी सदस्यको संख्या २२६७ र २१.१७ प्रतिशत तरलता कायम रहेको छ । संस्थागत विकासमा नीति, विधि, पद्धति र प्रविधिको अवलम्बन गरि आगामी दिनमा संस्थागत सुशासन कायम गर्दै प्रभावकारी सदस्य सेवामा लाग्ने र सेवाहरु विस्तार गर्ने प्रतिवद्धता संस्थाले जनाएको छ । सदस्यहरुको समृद्धिका लागि कार्य गर्दै दिगो सहकारी निमार्ण गर्ने लक्ष्यसहित हाम्रो आगामी यात्रा तय भएकोले हामी संस्था र सदस्य प्रति जवाफदेहि र उत्तरदायी भएर कार्य गर्ने प्रतिवद्धता संस्थाका अध्यक्ष अध्यक्ष शम्भुप्रसाद फुयालले व्यक्त गरेका छन् । एक प्रतिवद्धता जारी गर्दै अध्यक्ष फुयाँलले समस्त सदस्यहरु, संस्थाका संस्थापकहरु, स्थापनादेखि हालसम्मका सबै समिति उपसमिति, सल्लाहकार, कर्मचारीहरु, विभिन्न समयमा संस्थाका विभिन्न सेवाहरुमा सहकार्य गरेका सामाजिक संघ संस्थाहरु, नियामक निकाय, सञ्चारकर्मी लगायत सरोकारवाला लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा सबै पक्षबाट निरन्तर सहकार्य र सद्भावको अपेक्षा गरेका छन् ।