गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।
भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो ।
महानगरले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१औँ दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।
रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।
रंगशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पुरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ । पहिलो चरणको काम पुरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । यसअघि बागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्ष २०२४ को एउटा आकर्षक गन्तव्य रंगशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटन अगावै टेण्डर आह्वान गरिएको बताएकी छन् ।