नेदरल्याण्ड्ससँग नामिबिया पराजित
काठमाडौं । जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ ।
नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको थियो । जवाफमा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो । नामिबियाका लागि जान फ्रिलिङक र जान ग्रिनले समान ४२-४२ रनको योगदान दिए । त्यसैगरी जेपी कोटेजले २६ रन जोड्दा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९-१९ रन बनाए ।
बलिङतर्फ नेदरल्यान्ड्सका टिम भान डर गुगटेनले दुई विकेट लिए भने याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वेल, भिभियन किंग्मा र आर्यन दत्तले समान एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतले सर्वाधिक एक सय ३५ रनको योगदान दिएका थिए । त्यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४० बलमा सात चौका र पाँच छक्काको मद्दतले ७५ रन जोडे । तेजा निदामनुरुले १८ रन बनाए ।
योजितसँगै नेदरल्यान्ड्सले दोस्रो जित दर्ता गराएको छ । यसअघि भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको थियो । भोलि नेपालले नामिबियासँग खेल्नेछ ।