भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै
काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज दिउँसो ३ बजे बैठक बस्न लागेको छ । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ । गठबन्धन बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्ने तयारी गरेका छन् ।
उनीहरूलाई समेत गठबन्धनमा सामेल गर्न सबै सकारात्मक भएका कारण छलफल गर्ने तयारी गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई हटाई चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विनाविभागीय मन्त्री बनेका छन् ।