विश्वकप क्रिकेटको तयारीका लागि सरकारले दियो पाँच करोड

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई पाँच करोड रुपैयाँ दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए । नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्त्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।

नेपाली टोली विश्वकपमा पुगपछि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँको सो प्रतिबद्धता पूरा भएको छ । अब खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको छु । सदस्य–सचिव घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिए । नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म भएको आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकपका लागि नेपाल छनोट भएको थियो । नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपाली टिमले सन् २०१४ मा पहिलोपटक ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *