नयाँ गठबन्धनमा केही विवादित मान्छे छन्, शुद्ध छैन, ः उपाध्यक्ष भुसाल
काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् । उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । ‘जनतालाई अलि बढी राहत हुनेगरी काम गरौं । त्यही ढंगले बजेट निर्माण गरौं । आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरु थप्दै जाउँ । आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔं भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौं भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि , कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ । उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको पनि प्रस्ट पारिन् । उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहींका दल र नेताहरुले बनाएका बताइन् ।
उनले भनिन्, ुगठबन्धनलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बन्यो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि ल्याएको छ । तर होइन । यो नितान्त यहींका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुनर्गठन हो । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यही गठबन्धनमा बसिरहने कुरा नहुने धारणा राखिन् । उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातीय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने विश्वास व्यक्त गरिन् । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्नेमा जोड दिइन् । उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिइन् ।