प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
आज (बुधबार) भएको विश्वासको मतदानमा २६८ जनाले मतदान गरेका थिए । प्रधानमन्त्रीलाई विश्वासका लागि १३७ सांसदको मत आवश्यक थियो । तर मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको हो । यो सँगै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस २६ र २०७९ चैत्र ६ गते विश्वासको मत लिएका थिए । पहिलो पटक पुस २६ मा २६८ मत पाएका थिए भने दोस्रो पटक चैत्र ६ गते विश्वासको मत लिने क्रममा १७२ मत पाएका थिए । प्रधानमन्त्री प्रचण्डलाई उनको दल माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीको नयाँ गठबन्धन बनेको थियो ।