काठमाडौंका विभिन्न स्थानमा सहकारी पीडितहरूको प्रदर्शन
काठमाडौं । देशभरका सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि जनदबाव स्वरूप काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गराइदिन सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले ध्यान नदिएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । सहकारीमा बचत गरेको पैसा सञ्चालकहरूले फिर्ता नदिएर ठगिएका पीडिहरू देशभरबाटै काठमाडौंमा जम्मा भएका थिए । प्रदर्शनकारीले ठगी गर्ने सहकारीका नामसहितका प्लेकार्ड बोकेर, नाराबाजी गर्दै विरोध जनाएका छन् । ‘सहकारीमा जम्मा गरेको पैसा लिन जाँदा कर्मचारीले हामीलाई थाहा छैन भन्छन्,’ प्रदर्शन कै क्रममा एक पीडितले भनिन्, ‘ब्याज पनि आउँछ, आवश्यक परेका बेला निकाल्न मिल्छ भनेर राखियो । अहिले फिर्ता दिएनन् ।’
आफ्नो पैसा फिर्ता गराउँन सरकारले पहल गर्नुपर्ने पीडितहरूको भनाइ रहेको छ ।