कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ । आज मात्रै पक्राउ परेका महरालाई अदालतमा पेश गरिएको थियो । महरालाई बिहान ९ बजे कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको थियो । भैरहवा विमानस्थल हुँदै उनलाई आज काठमाडौँ ल्याइएको हो । उनलाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्याइएको थियो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले सुन तस्करी प्रकरणमा महरालाई कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।