अन्नपूर्णमा आरोही आउन थाले
म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् ।
बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ । जङ्गे अल्टिच्युडमार्फत आएका उनीहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।
“यो यामको पहिलो टोली आधार शिविर पुगेको छ,” उनले भने, “म्याग्दीमा रहेको धवलागिरि हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन् ।” अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका एक÷एकजना आरोही शेर्पा र सहयोगीको टोलीसहित आधार शिविर पुगेका हुन् । अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण–४ नारच्याङको भूगोलमा पर्छ । गत बसन्त याममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए । शरद्याममा भने कसैले पनि अन्नपूर्ण आरोहण गर्ने अनुमति नलिएका पर्यटन विभागले जनाएको छ ।
यसपालि अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने तयारी गरेकि छिन् । सन् २०२६ भित्र बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने एलीको लक्ष्य रहेको छ । सेभेन समिट ट्रेक्समार्फत बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गरेकि थिइन् ।
पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरेकि थिइन् । विश्वमा हालसम्म छजना आरोहीले मात्र बिना अक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलोपटक आरोहण गरेका थिए । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो ।
विसं २०६८ मा नारच्याङका अगुवाहरुले पहिचान गरेको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग प्रथम आरोही मौरिजका नाममा नामकरण गरिएको छ । नारच्याङबाट दोस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।