संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११ः१५ बजे बस्नेछ ।
प्रतिनिधिसभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ.एस.ए.)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । अन्य विधायीकी कार्य, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथिको छलफलको क्रममा उठेका प्रश्नको अर्थमन्त्रीबाट जवाफ दिने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका विषयवस्तु समावेश भएको प्रतिवेदन सम्बन्धित निकाय पठाउन निर्देश गर्नेलगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।