नबिल बैंकको चितवन मेडिकल कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

काठमाडौं । नबिल बैंकले चितवन मेडिकल कलेजमा वित्तीय साक्षरतासम्बन्धी एक दिने कार्यक्रम सम्पन्न गरेको छ । बैंकले मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि उक्त कार्यक्रम आयोजना गरेको हो । ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा बैंकले मेडिकल अध्ययन गरिरहेका विद्यार्थीहरूलाई वित्तीय शिक्षा दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको संयोजन नबिल बैंकको चितवन, मकवानपुर र पूर्वी नवलपरासीमा भएका १३ शाखा कार्यालयको संयोजन गर्दै आएको मनकामना कलस्टरले गरेको थियो । कार्यक्रममा विद्यार्थीलाई पैसाको महत्त्व, बचत गर्ने तरिका, बैंकको काम, खाता खोल्ने तरिका, बैंकबाट पाइने सुविधा र बैंकका प्रोडक्टहरूबारे जानकारी दिइएको मनकामना कलस्टरका प्रमुख लिलाप्रसाद ओझाले जानकारी दिए । मेडिकल पढ्ने विद्यार्थीहरूलाई वित्तीय ज्ञान कम हुने भएकाले हामीले उनीहरूलाई बुझाउन वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेका हौँ ।

कार्यक्रममा हामीले बचत कसरी गर्ने, बैंकले के काम गर्छन्, बैंकबाट के–के सेवा पाइन्छ भन्ने विषयमा पनि बुझाएका थियौं । बैंकले ल्याएका नयाँ–नयाँ प्रोडक्टको विषयमा जानकारी दिँदा विद्यार्थीहरूले उत्साहित भएर सुनेका थिए । कार्यक्रममा महिला तथा पुरुष गरी ७० जना विद्यार्थीले सहभागिता जनाएको ओझा बताउँछन् । सहभागी विद्यार्थीहरूले पनि यस्तो कार्यक्रमले दैनिक जीवनमा परिवर्तन ल्याउने जानकारी दिए । आफूहरूको बढाई मेडिकल भए पनि पैसाको काम दैनिक आउने हुँदा बचतदेखि सुरक्षाका कुरा पनि सिकेको सहभागी विद्यार्थी कसिस महतोले बताइन । पैसा बचत गर्न यो कार्यक्रमले सिकाएको उनी बताउँछन् । बैंकमा आएका नयाँ प्रडक्टहरूको बारेमा जानकारी पाइयो । त्यसका साथै हामीले बचत गर्ने तरिका र खर्च गर्ने तरिका पनि सिक्ने अवसर पायौैँ, उनले भनिन्, बैंकमा सानो–सानो बचत गर्दा देशको अर्थतन्त्रमा हामीले योगदान पुर्‍याउँदा रहेछौँ भन्ने कुरा पनि थाहा भयो । सानो बचतले जीवनमा कस्तो परिवर्तन ल्याउँछ भनेर पनि सिक्ने मौका पायौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *