भेपमा सुन तस्करीबारे सीआईबीमा उजुरी दिने सहसचिवलाई नै कारबाही
काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप)मा भएको सुन तस्करी अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा निवेदन दिने तत्कालीन भन्सार प्रमुखलाई कारबाही सिफारिस भएको खुलेको छ । सुनको अवैध पैठारी (तस्करी) जाँचबुझ आयोगले भेपको सुन तस्करीबारे सीआईबीमा उजुरी दिने तत्कालीन विमानस्थल कार्यालयका भन्सार प्रमुख सहसचिव अरुण पोखरेललाई कारबाही सिफारिस गरेको हो । उनीमाथि ‘नैतिक जिम्मेवारी लिनुपर्ने’ भन्दै सचेत गराउन आयोगले सिफारिस गरेको हो । उनकै उजुरीपछि भेपमार्फत् हुने सुन तस्करीको नयाँ तथ्य खुलेको थियो । भन्सार गोदाममा राखिएको भेप मुद्दा शाखाबाट निरीक्षण गर्दा साटफेर भएको पत्ता लागेपछि पोखरेल अनुसन्धानका लागि सीआईबी पुगेका थिए । उक्त भेपभित्रको सुन भन्सारकै नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेतले चोरी गरी व्यापारी वेदप्रकाश अग्रवाल र साहेबराव पाण्डुरङ मर्गलेको समूहले बिक्री गरेको थियो । उक्त अभियोगमा हाल जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । साटफेरबारे नासु खड्कालाई पटक–पटक सोधपुछ गर्दा पनि जवाफ नपाएपछि अनुसन्धानका लागि सीआईबी गएको उनले गरेको कागजमा उल्लेख छ ।
पोखरेल हाल गृहमन्त्रालयमा कार्यरत छन् । पोखरेलले दिएको निवेदनकै आधारमा सीआईबीको अनुसन्धानले ०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत् भेप ल्याएको खुलाएको थियो । ७३ बट्टाभित्र ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको खुलेको हो । उक्त सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको समेत ‘कनेक्सन’ देखिएको थियो । महरा त्यही अरोपमा पक्राउ परेर आज (शुक्रबार) छुटेका छन् । भेपकै सुन तस्करीमा जोडिएका महराका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन् । सरकारले १४ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी थिए । आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एक एसपीसहित दुई डीएसपीलाई समेत विभागीय कारबाही सिफारिस गरेको थियो । कारबाही सिफारिस गरेका प्रहरी अधिकारी समेत आयोगको छानबिनप्रति असन्तुष्ट देखिका छन् । आयोगको सिफारिसँगै बज्राचार्यालाई सीआईबीको प्रमुखबाट हटाइएको छ ।