सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै हो ः प्रधानमन्त्री
काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख कार्य भएको बताए । मेरो कोसिस सकेसम्म सबै राजनीतिक दल, सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै हो । हुन त नेपाली कांग्रेससँग नजिक हुँदा र कहिले नेकपा (एमाले)सँग नजिक हुँदा नेता साथीहरूलाई नमिठो लागेकै छ ।
उनले सबै राजनीतिक दललाई एक ठाउँमा ल्याई सहमतिका आधारमा काम गरिरहेको जिकिर गरे । सुशासन र समृद्धि आवश्यक रहेको भन्दै उनले मुलुकमा राष्ट्रिय समझदारी बनाउन नसके निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने बताए । हामीले सहमतिकै आधारमा काम गरिरहेका छौँ । राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौँ । त्यसको एउटा वातावरण बनिरहेको पनि छ । हामीलाई यति बेला चाहिएको भनेको सुशासन र समृद्धि हो । हामीले त्यसको निम्ति राष्ट्रिय समझदारी बनाउन नसके निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्छ, नेपाल र नेपालीले । प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियासँग सम्बन्धित काम र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा छलफल गर्न लागिएको पनि बताए ।