संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि आज बोलाइएको छ । बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर परिषद्को बैठक राखेका हुन् । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ ।