ठमेल र दरबारमार्ग मापसेबाट अचेत भएकालाई घरसम्मै पुर्याइदिनुपर्ने, बालबालिकालाई प्रवेश निषेध
काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा सरोकारवालासँग छलफल भएको छ । शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा सरोकारवाला निकायहरुसँग छलफल भएका भएको छ । छलफलमा २४सै घण्टा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि समेत बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कार्यविधिमा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउण्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै, बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको जानकारी गराउँदै उनले जसमा श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लव र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन नपाइने बताए । कार्यविधि अनुसार सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सम्पूर्ण सुरक्षा तथा मापदण्ड व्यवस्था गरिएको छ । बिहान ४ बजेसम्म सञ्चालनमा रहने मनोरञ्जनात्मक व्यवसायका लागि केही थप आचारसंहिता व्यवस्था गरेको बताउँदै सीडीओ बस्नेतले अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमुलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा सजगतापूर्वक स्वस्थ मनोरञ्जन दिनेगरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको उल्लेख गरे ।
छलफलमा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यवसायिक उद्देश्यले आउने गरेको दाबी गरिन् । उपप्रमुख डंगोलले काम गर्न भन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौं बनाउने अभियान असफल भएको उल्लेख गरिन् । उनले चौबिसै घण्टा बजार खुला गर्ने निर्णय ठिकै भएपनि त्यसमा सुरक्षा र स्थानीयको सुत्न पाउने अधिकारको पनि ख्याल गरिनुपर्ने बताइन् । ‘सडकमा माग्नेहरू दुःख परेर भन्दा पनि व्यवसायिक ढंगले आउने रहेछन् । काम गरेरभन्दा मागेर धेरै कमाइ हुन्छ भनेर उनीहरूले नै भनेका छन् । यसअघि पनि महानगरमा सडक मानवमुक्त अभियान सुरू भएको हो, तर सफल भएको छैन । तथ्य जाँच गर्दा उनीहरु व्यवसायिक ढंगले माग्ने र घर घडेरी जोड्ने गर्दा रहेछन् । ठमेलमा घरधनीहरु बस्छन् । न्यायिक समितिमा धेरै यस्ता उजुरी ठमेलबाट आएका छन् कि ध्वनी प्रदुषणले गर्दा डिप्रेसनमा गएँ, सुत्न नसकेर बिरामी भइयो, स्लिपिङ ट्याबलेट खानुपरेको जस्ता उजुरी छन् । साउण्ड प्रुफलाई बाध्यकारी बनाइनुपर्छ ।’ उनले भनिन् । छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने काम शुरु गर्न आवश्यक रहेको बताए । उनले ठमेल र दरबारमार्गका व्यापार व्यवसायको लागि ध्वनी प्रदुषण शतप्रतिशत कम गरेर वा अन्य सबै नियमन शतप्रतिशत गरेर गर्नसक्ने अवस्था नभएको बताए । सरकारले बनाएको रात्रिकालिन व्यवसाय सञ्चालन कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्नु जरुरी रहेको बताउँदै उनले विदेशबाट आउने पर्यटकहरुले नेपालमा १० बजे नै सबै होटल, रेष्टुरेण्टहरु बन्द हुने नकारात्मक सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको जानकारी गराए । छलफलमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले समय पर्खिने भन्दा पनि तत्काल व्यवसाय सञ्चालनको लागि अनुमति दिन आवश्यक रहेको बताए । उनले आगामी नेपाली नववर्षको अवसर पारेर वैशाख १ गतेबाट पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
ट्याक्सीको व्यवस्थापन भाडाको विषयमा यातायात व्यवस्था कार्यालयले टुङ्गो लगाउनुपर्ने बताउँदै वरिष्ठ उपाध्यक्ष सिटौलाले रात्रिकालिन बस सञ्चालनको लागि भाडा व्यवस्थापन गर्न नसक्दा महानगरले शुरु गरेको बस सञ्चालन गर्न नसकिएको स्मरण गराए । ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माले नेपालमा आउने करिव ८० प्रतिशत पर्यटक ठमेलमा घुम्न, बस्न र खाना आउने गरेको बताए । उनले त्यसबाट करिब ६० हजारलाई स्वरोजगार बनाएको दाबी गरे । उनले ठमेल पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा गुरुयोजनालाई आजदेखि नै कार्यन्वयन गर्न जरुरी रहेको बताए । ठमेलमा केही व्यवसाय सञ्चालनमा भएपनि कुनै मापदण्ड कायम गरी नियमित अनुगमन गर्न आवश्यक रहेको बताउँदै उनले व्यवसायी सञ्चालनको लागि बनाएको कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्न सके ठमेल र दरबारमार्ग नेपालकै नमुना पर्यटकीय नगरी बन्न सक्ने दाबी गरे । छलफलमा स्थानीयवासी तथा व्यवसायीहरुले सरकारले सहज रुपमा बस्न पाउने अधिकार हनन नहुने र सहज रुपमा व्यवसाय वातावरण बनाउने र शान्ति सुरक्षा मजबुत हुनेगरी व्यवसाय सञ्चालन गर्न सुझाव दिएका छन् । उनीहरुले माथिको सटरमा क्लव सहज रुपमा सञ्चालन गर्ने दिने तर तलको सटरमा चिया बेच्न नपाउने वातावरण राज्यले बनाउन नहुने उनीहरुको सुझाव थियो । उपभोक्ताकर्मीहरुले उपभोक्ताको हकहितमा व्यवसाय सञ्चालन गर्ने कुराको स्वागत गरे । उनीहरुले उपभोक्तालाई गुणस्तरहिन र मूल्यमा ठगिनुपर्ने वातावरणको अन्त्य सरकारले गर्न सुझाव दिए । यता सरकारले श्रमिकलाई रात्रिकालीन समयमा वासस्थानसम्म पुर्याउनुपर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन,शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोशाक परिवर्तन गर्ने कोठामा सिसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ । व्यवसायी उपभोक्ता, श्रमिकले पालना गर्नुपर्ने आचारसंहितामा नाबालिकलाई कुनैपनि व्यापार व्यवसायमा राख्न नपाउने व्यवस्था गरिएको छ । भने, नाबालिक तथा नाबालिकलाई सूर्तिजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । श्रमिकलाई नियुक्ति पत्र, पोसाक, परिचयपत्र, रात्रिकालीन भोजन, रात्रिकालीन समयमा निवाससम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड राखिएको छ