२० वर्ष पार्टीमा अरूले आस नगरे हुन्छ ः अध्यक्ष ओली
पोखरा । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । ‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ उनले भने, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ । उनले कांग्रेस–माओवादी गठबन्धन आफैँले तोडेको बताए । विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप लागिरहेका बेला उनले देशभित्रैबाट गठबन्धन तोडेको बताएका हुन् । ‘हामी मिसन ८४ भनेर अघि बढिरहेका छौँ । एउटा गठबन्धन तोड्दियौँ ।
‘गठबन्धन विदेशीले होइन हामीले फुटाएका हौँ । यो समीकरण बनाउन हामी सक्थ्यौँ, हामीले नै बनाएका हौँ । एमालेको सरकार ढालेपछि देश ओरालो लागेको लागै थियो, त्यस सरकारलाई हटाउनै पर्ने भयो । उनले गण्डकी एमालेको किल्ला र कास्की किल्लाको राजधानी भएको दाबी गरे । ‘एमालेका लागि गण्डकी लाल किल्ला हो । कास्की लाल किल्लाको राजधानी हो । कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ । ओलीले अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै अप्ठ्यारा चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई सुझाए । कास्कीको आगामी २ वर्षको नेतृत्व वैनबहादुर अधिकारीले पाएका छन् । निकटतम प्रतिस्पर्धी माधव बास्तोलालाई हराएर उनको प्यानल नै निर्वाचित भएको छ । अधिकारी केन्द्रीय सदस्य खगराज अधिकारी निकट हुन् भने बास्तोला उपमहासचिव पृथ्वी सुब्बा निकटका हुन् ।