पुनमाथि सुन प्रकरणमा पनि अनुसन्धान हुने
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पुनमाथि अनुसन्धान गर्नु भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्राचार गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका पुन छुटेमा वा पुर्पक्षका लागि कारागार चलान हुने आदेश भएमा पनि सीआईबी पठाइदिन भन्दै पत्राचार भएको खुलेको हो । सीआईबीले २४ चैतमा रुपन्देही प्रहरीलाई पत्राचार गर्दै सहकारी ठगी प्रकरणको अनुसन्धान सकिएपछि पुनलाई काठमाडौं पठाउन भनेको छ ।
यसअघि उच्च अदालतका पूर्वन्यायााधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले समेत पुनमाथि पूर्ण छानबिन भएको नदेखिएको भन्दै उनीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो । आयोगले पुनमाथि बयान लिएको थियो । आयोग भन्दा पहिला पनि सुन तस्करीमा पक्राउ परेका चिनियाँहरूसँग सम्बन्ध देखिएपछि सीआईबीले पुनलाई बयानमा बोलाएको थियो । तर सीआईबीले कागज गराएर उनलाई छाडेको थियो । सीआईबीका अनुसन्धान अधिकृतका अनुसार बयानका लागि बोलाउँदा पुन आफूले चलाउने गरेको एन्ड्रोइड फोन लुकाएर सामान्य फोन बोकेर गएका थिए । सहकारी ठगी प्रकरणमा पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।