राप्रपाको जनप्रदर्शनका क्रममा घाइते भएका डाँगीको मृत्यु
काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।
राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो । डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए ।
आन्दोलनकारीलाई हटाउनेक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको खबर आएको छ । डाँगीलाई आज मध्याह्न १२ बजे राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।