इलामका ७९ र बझाङका ७४ मतदान केन्द्रमा सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष
काठमाडौं । प्रहरीले इलाम–२ र बझाङ (१) मा हुन लागेको उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ । चुनावी सुरक्षाबारे जानकारी दिँदै प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले दुवै जिल्लामा सुरक्षा तयारी पूरा भएको बताए । प्रहरीले निर्वाचन बिथोल्ने प्रयास गरे बल प्रयोग गर्ने सम्मको तयारी गरेको छ । डीआईजी ढकालका अनुसार इलामका १९१ मतदान केन्द्रमध्ये ७९ केन्द्र संवेदनशील रहेको विश्लेषण गरिएको छ । त्यसमध्ये १९ मतदान केन्द्र अतिसंवेदनशील रहेको प्रहरीको निष्कर्ष छ । त्यस्तै, बझाङका ९३ मतदान केन्द्रमध्ये २३ वटा अतिसंवेदनशील रहेको र बाँकी ७४ मतदान केन्द्र संवेदनशील रहेको प्रहरीको विश्लेषण छ ।
संवेदनशील अवस्था हेरेर दुवै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिने डीआईजी ढकालको भनाइ छ । अतिसंवेदनशील केन्द्रमा १२ देखि १७ जना प्रहरी परिचालन गरिनेछ । प्रहरीबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनालेसमेत बाहिरी गस्ती गर्नेछन् । इलामको निर्वाचन केन्द्रमा एक हजार ७९ जना प्रहरी र बझाङको निर्वाचन केन्द्रमा ८०३ जना प्रहरी परिचालन गरिनेछ । बझाङको निर्वाचनको तुलनामा इलामको निर्वाचनमा जातीय, धार्मिक साम्प्रदायिक तथा क्षेत्रीयकरणका कारण सुरक्षा चुनौती धेरै हुने सक्ने प्रहरीको आकलन छ ।
वैशाख १५ गते इलाम–२ र बझाङ (१) मा उपनिर्वाचन हुँदै छ ।