हिरानन्दानी ग्रुपसँग मिलेर प्रतिष्ठित व्यवसायी बसन्त चौधरीले ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना गर्ने
काठमाडौं । हिरानन्दानी ग्रुपले नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । व्यवसायी बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । ३ अर्ब लगानीमा बनाइने उक्त डाटा सेन्टरको लागी लगानी सम्मेलनमा सम्झौता हुनेछ । आइतबार र सोमबार आयोजना हुन गइरहेको तेस्रो लगानी सम्मेलनमा हिरानन्दानी समूह र बसन्त चौधरीको बिएलसी होल्डिङ्सबीच सम्झौता हुने भएको हो । फोब्र्समा सूचीकृत अर्बपति दाजु निरन्जर हिरानन्दानी र भाई सुरेन्द्र हिरानन्दानीको हिरानन्दानी समूह भारतको एक ठूलो तथा प्रतिष्ठित रियल इस्टेट लगानीकर्ता हो । भाई सुरेन्द्र हिरानन्दानीले साइप्रसको नागरिकता लिएका छन् ।
मुम्बईस्थित हिरानन्दानी समूहले मुम्बई, बैंङलोर, चेन्नई, र हैदराबादमा ठूला रियल इस्टेट विकास गरेको छ । यसका साथै, समूहले स्वास्थ्य, शिक्षा, ऊर्जा र सेवा क्षेत्रमा आफनो लगानी विविधीकरण गरेको छ । सन् २०२० मा यो समूहले योट्टा इन्फ्रास्ट्रक्चर नामक सहायक कम्पनी सुरु गरेको थियो । मुम्बइस्थित इन्टिग्रेटेड योट्टा डाटा सेन्टर पार्क (योट्टा एनएमवान) विश्वको दोस्रो ठूलो डाटा सेन्टर हो ।
हिरानन्दानी समूहको योट्टा डाटा सर्भिसले नेपालमा पनि बसन्त चौधरीको बिएलसी होल्डिङससँग मिलेर ३ अर्ब रुपैयाँमा डाटा सेन्टरमा लगानी गर्न लागेको हो । यसको समन्वय नेपाल उद्योग परिसंघले गरेको हो । बसन्त चौधरी नेपालका प्रतिष्ठित व्यवसायी हुन् । उनले स्थापना गरेको नर्भिक अस्पताल प्रख्यात छ । ‘हामीले डेटा उद्योगमा संभावना देखिरहेका थियौं, विश्वकै दोस्रो ठूलो डाटा सेन्टर सञ्चालन गरिरहेको हिरानन्दानी समूहसँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो । यसले नेपालमा डेटा सेन्टरमा ठूलो संभावनाको ढोका खुल्ने निश्चित छ । लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले यसरी निजी क्षेत्रले बीटुबी सम्झौता गर्दा सकारात्मक सन्देश जाने बताए । ‘निजी क्षेत्रले आफ्नो नेटवर्कका लगानीकर्तालाई बोलाएर लगानी सम्मेलनको प्लेटफर्म प्रयोग गर्नु राम्रो हो,’ उपाध्यायले भने– ‘निजी क्षेत्रले गर्ने बीटुबीको विषयमा हामीलाई जानकारी दिइराख्नु पर्ने होइन तर नेपाल र विदेशका निजी कम्पनी गर्ने आपसी सहकार्य गर्नु सकारात्मक हो ।