संसद्को बजेट अधिवेशन वैशाख २५ मा बोलाउने सरकारको तयारी
काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिएका हुन । उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसद्मा लैजाने तयारी भइरहेको बताए ।
त्यस्तै, संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने पनि उनको भनाइ छ । उनले बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे । सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए । यद्यपि, छिटो पारित गर्नेगरी संसद्मा विधेयक नै आउनसक्ने पनि उनले बताए ।